Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कृषिमा प्रविधिको प्रयोग आम्दानी दोब्बर

खेमराज गौतम । बागलुङका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन् ।

आधुनिक प्रविधिको प्रयोग गर्दै आम्दानी बढाउनेमा किसान त्रिलोचन सापकोटा पनि हुन् । तीन दशकभन्दा बढी समयदेखि कृषि पेशामा सक्रिय बागलुङ नगरपालिका–४ ढोडेनीका सापकोटाले प्रविधिको प्रयोगपछि आम्दानी दोब्बर भएको अनुभव सुनाए । उनँले हाल १२ रोपनी जग्गामा नौवटा हाइटेक टनेलमा खेती गरिरहेका छन् । सापकोटाले प्रत्येक प्लाष्टिक टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि पनि अपनाएका छन् । उनले कालीगण्डकी पशुपालन तथा कृषि फार्म कम्पनी अन्तर्गत गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी प्लाष्टिक टनेलसम्म पुर्‍याउने व्यवस्था मिलाएका छन् ।

‘व्यवासयिक कृषि र पशुपालन ३२ वर्षदेखि गरिरहेको छु, तर पछिल्लो पाँच वर्षयता मात्रै कृषिमा आधुनिक प्रविधिको प्रयोग सुरु गरेपछि वार्षिक आम्दानीमा दोब्बर भएको छ’, सापकोटाले भने, ‘बाह्र रोपनी जग्गामा नौवटा प्लाष्टिक हाइटेक टनेल र अन्य खाली जग्गामा तरकारी खेती गरिरहेको छु ।’

उनले तीनवटा भैँसी र एउटा गाईबाट उत्पादन हुने दैनिक २५ लिटर दूध बिक्री गरिरहेका छन् भने एक रोपनी क्षेत्रफलमा स्थानीय जातको माछापालन गरिरहेका छन् । ‘गत जेठमा मात्रै रु दुई लाखको टमाटर बिक्री गरेँ, यो प्रविधिको प्रयोग सुरु गरेपछि यति राम्रो आम्दानी सम्भव भएको हो’, उनले सुनाए । उनलठले दुई जनालाई नियमित र अन्यलाई ज्यालादारीमा जागिर पनि दिएका छन् ।

‘प्रविधिकै कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा र दूध बिक्रीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी भइरहेको छ’, उनले भने, ‘यही कमाइबाट तीन जना छोरालाई उच्च शिक्षासम्म पढाउन सकेँ ।’ उनका एक छोरा अहिले अमेरिका र एक जना अष्ट्रेलिया छन् ।

‘पशु र बालीमा कुनै रोगको सङ्क्रमण नभए आम्दानी राम्रो हुन्छ, सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पनि प्राप्त भइरहेको छ’, उनले भने, ‘तलब, ज्याला, मल, बीउलगायतमा वार्षिक रु पाँच लाख खर्च भए पनि रु १० लाख बचत हुन्छ ।’ उनी यतिबेला कृषि फार्म बिस्तारको योजना बनाएका छन् । फार्मलाई पूर्णरुपमा विषादीमुक्त बनाउने योजना अनुसार गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी तरकारी बालीमा प्रयोग गरिरहेको उनको भनाइ छ ।

फार्म सञ्चालनका लागि साढे तीन रोपनी आफ्नै जग्गा छ । बाँकी जग्गाका लागि वार्षिक रु ८० हजार भाडा तिर्छन् । काउली, बन्दा, सिमी, साग, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आएका सापकोटाको मुख्य आम्दानी भनेको टमाटर भएको उनले बताए । 
सापकोटालाई श्रीमती चित्रकुमारी र कान्छा छोरा सागरले पनि सहयोग गर्दै आएका छन् । सापकोटा सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्वमा पनि छन् । निरन्तरको कृषि लगावका कारण आफूले सफलता पाएको भन्दै सापकोटाले कृषिमा धैर्यता आवश्यक रहेको बताउँछन् ।