Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विदेशी सम्बन्धन प्राप्त विद्यालयले सर्त पूरा नगरे विद्यार्थी सारेर बन्द गरिने

सरकारले विदेशी बोर्ड वा शिक्षण संस्थासँग आवद्ध भएर नेपालभित्र सञ्चालनमा रहेका विद्यालयले सर्त उल्लंघन गरे कडा कारबाही गर्ने ऐन ल्याउन लागेको छ । मंगलबार संसद् सचिवालयमा दर्ता गरिएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा कडा कारबाहीको व्यवस्था गरिएको हो । कूटनीतिक नियोगले अनुरोध गरेमा सरकारले सर्त तोकी विद्यालय स्थापना र सञ्चालन गर्न अनुमति दिन सक्ने व्यवस्था विधेयकमा छ । “यसका साथै यसअघि स्थापना भएका विद्यालयको बचाउ गरिएको छ भने सर्त उल्लंघन भएमा अध्ययनरत विद्यार्थीलाई अन्यत्र अध्ययन गर्ने व्यवस्था मिलाई त्यस्ता विद्यालय बन्द गरिने व्यवस्था गरिएको छ,” विधेयकमा भनिएको छ । यस्तो कारबाहीले विद्यालय शिक्षामा विदेशका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अभ्यास व्यवस्थित हुन जाने विश्वास विधेयकमा व्यक्त गरिएको छ ।