Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

हिक्मत कार्कीको अडान : राजीनामा गर्नैपर्ने संस्थागत निर्णयबाट मात्रै मान्छु

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्भावित राजनीतिक संकट टार्न नयाँ सरकारको बाटोमा जान नहुने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री फेर्ने अडान गरेपछि कार्कीले यस्तो बताएका हुन् ।

कांग्रेससँगको सत्ता सहकार्य टुटेपछि सातै प्रदेश सरकार फेर्नेगरी एमालेले नेपाली कम्युनिष्ट पार्टीसँग तीन बुँदे सहमति गरेको छ । ओली र नेकपाका संयोजक पुष्प कमल दाहाल 'प्रचण्ड'बीच भएको सहमति बमोजिम कोशी सरकारको नेतृत्व एमालेले नै गर्नेछ ।

नेताहरूका अनुसार, प्रदेश संसदीय दलका उपनेता ताप्लेजुङ–१ (क) बाट निर्वाचित तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ ।

‘दलको उपनेतालाई मुख्यमन्त्री बनाउनेगरी छलफल गरिरहनु भएको छ,’ कोशीका एक नेताले भने । तर, मुख्यमन्त्री कार्कीले ओलीको चाहना अनुसार राजीनामा नगर्ने अडान लिएका छन् । संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका कार्कीले आफ्नो राजीनामाले राजनीतिक संकट आउनसक्ने तर्क गरेका छन् ।

‘संसदीय दलको नेताका हैसियतले भन्दा पनि उपधारा ५ बमोजिम बहुमत सांसदहरूको स्वतन्त्र हस्ताक्षरबाट मुख्यमन्त्री बनेकाले मैले राजीनामा दिँदा संवैधानिक संकट आउँछ,’ कार्कीले आफू निकटस्थलाई भन्ने गरेका छन् ।

यो उपधारा बमोजिम बन्ने मुख्यमन्त्रीलाई विश्वासको मत दिदा दलीय ह्वीप समेत नलाग्ने सर्वोच्च अदालतको आदेशलाई पनि ध्यान दिनुपर्ने उनको तर्क छ ।

स्रोतका अनुसार, एक साता अघि मात्रै ओलीलाई भेटेका मुख्यमन्त्री कार्कीले यसतर्फ सचेत गराइसकेका थिए । तर ओली मुख्यमन्त्री फेर्ने अडानमै छन् ।

‘पार्टी पुनगर्ठनको पक्षमा उभिनेहरूविरुद्ध निर्मम बनेको सन्देश दिन पनि मुख्यमन्त्री फेर्ने अडानमा केपी ओली उभिनु भएको छ,’ स्रोत भन्छ ।

मुख्यमन्त्री कार्कीले भने राजीनामा गर्नैपर्ने भए पार्टीको संस्थागत निर्णय हुनुपर्ने अडान राखेका छन् । ‘व्यक्तिगत निर्देशनले होइन, संस्थागत निर्णय भयो भने मान्ने हो,’ कार्कीले भने।