Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

भूमिहीनलाई समान प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्न सुनिता डंगोलको जोड

काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासी सबैलाई एउटै प्रक्रिया र व्यवस्थाबाट आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । भूमि समस्या समाधान समितिसँगको छलफलमा डंगोलले समस्या जग्गाको स्वामित्वभन्दा पनि नागरिकको सुरक्षित आवासको अधिकारसँग जोडिनुपर्ने धारणा राखेकी हुन् ।

उनले जमिन मात्रै दिएर समस्या समाधान नहुने बताउँदै रोजगारी र आयस्रोत नभएका परिवारको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै सबै परिवारलाई समान दृष्टिले हेरेर दिगो समाधान खोज्नुपर्ने बताइन् ।

छलफलमा नदी किनाराबाट हटाइएका तथा जोखिमयुक्त क्षेत्रबाट स्थानान्तरण गरिएका परिवारको व्यवस्थापन, लगत संकलन र पुनःस्थापनाका विषयमा छलफल भएको थियो । महानगरभित्रका जोखिमयुक्त स्थानबाट होल्डिङ सेन्टरमा सारिएका २ हजार ६०८ परिवार पहिचान भएको जानकारी दिइएको छ ।

भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलाले हटाइएका परिवारको विवरण संकलन तथा व्यवस्थापन समितिले गर्ने बताए । साथै, अन्य भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचानका लागि सूचना जारी गरी लगत संकलन प्रक्रिया अघि बढाउने प्रस्ताव गरे ।

छलफलमा वडाध्यक्षहरूले नदी किनाराबाट हटाइएका परिवार, सरकारी जग्गामा पुस्तौँदेखि बसोबास गरिरहेका नागरिक र व्यवस्थापन हुन बाँकी परिवारको समाधानबारे प्रश्न उठाएका थिए । जमिन उपलब्ध गराउन कठिन अवस्था रहेकाले महानगरले सञ्चालन गरेको संयुक्त आवास कार्यक्रमलाई निरन्तरता दिन सकिने विषयमा पनि छलफल भएको थियो ।