Jul 09 2026

Jul 09 2026 | बिहिवार, आषाढ २५ गते २०८३

'बालेनका पुलिस होइनौं' भन्ने डिएसपी चौधरीलाई जिल्ला बोलाइयो

कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारेमा जानकारी लिन र आवश्यक सोधपुछ गर्न जिल्ला बोलाइएको जनाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार काम गर्ने संस्था भएको बताएका थिए । उनले भनेका थिए- 'हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो, अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाली पुलिस हौँ, केपी ओलीलाई थुन्ने पनि यही पुलिस हो, यो बर्दी राष्ट्रपतिले पनि लगाउन पाउनु हुन्न । हामी भोट हालेर टिका लगाएर आएका होइनौं । दारु भात खाएर आएका होइनौं ।’ 

त्यसक्रममा उनले आफू प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै प्रहरी संगठन राजनीतिक आधारमा नभई कानुनी प्रक्रियाअनुसार सञ्चालन हुने धारणा राखेका थिए ।