Jul 09 2026

Jul 09 2026 | बिहिवार, आषाढ २५ गते २०८३

संविधान संशोधन कार्यदलबाट एमाले बाहिरियो

संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट नेकपा (एमाले) पनि बाहिरिएको छ। बिहीबार एमालेका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक अशिम शाहलाई पत्र लेख्दै बाहिरिएको जानकारी दिएका हुन्।

एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पठाएको पत्रमा सरकारको निर्णयअनुसार गठित उक्त कार्यदलमा पार्टीका तर्फबाट डा. भीष्म अधिकारी प्रारम्भिक चरणमा सहभागी भएको उल्लेख गर्दै कार्यदलको कामकारबाही सुरुदेखि नै सन्देहास्पद देखिएको जनाएका छन्।

पत्रमा संविधान संशोधनका विषय स्पष्ट रूपमा निर्धारण नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा बहसमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएकाले सरकारसँग आफ्नो धारणा स्पष्ट गर्न एमालेले माग गर्दै आएको उल्लेख गरिएको छ।

एमालेले वर्तमान संविधानका आधारभूत विशेषतालाई अझ सुदृढ बनाउने तथा विगतका कमजोरी र नकारात्मक अभ्यास सुधार गर्ने उद्देश्यका साथ संविधान संशोधन हुनुपर्ने पक्षमा आफू दृढ रहेको जनाएको छ। 

तर संविधानका आधारभूत विषय नै खलबल्याउने उद्देश्य देखिएकाले पार्टीले कार्यदलमा सहभागिता जनाउन नसक्ने निर्णय गरेको पत्रमा उल्लेख छ।

uml.jpg