प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्न लागेका छन् ।
प्रधानमन्त्री शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने बताइएको छ ।
यसअघि बुधबार प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधि मुलक संस्था नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्शका प्रतिनिधिहरुसँग छलफल गरेका थिए ।