तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित नमखुखर्क लेकमा ५० जना पर्यटक अट्न सक्ने क्षमताको आश्रयस्थल निर्माण गरेको हो।
एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीका अनुसार रु १२ लाख ३५ हजार ५५० को लागतमा निर्माण गरिएको आश्रयस्थलमा पर्यटकका लागि बस्ने र खाने हलको व्यवस्था गरिएको छ। आश्रयस्थल सञ्चालनमा आएपछि जोमसोमबाट ठिनी हुँदै तिलिचो ताल पुग्ने पदयात्रीलाई थप सहज हुने अपेक्षा गरिएको छ।
मुस्ताङको जोमसोमबाट ठिनी, नमखुखर्क र मेसोकोन्दा पास हुँदै तिलिचो ताल पुगिन्छ। समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाइमा रहेको तिलिचो ताल मनाङ जिल्लामा पर्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ताल आन्तरिक तथा विदेशी पर्यटकका लागि साहसिक गन्तव्यका रूपमा परिचित छ।
मनाङतर्फको मार्गको तुलनामा जोमसोम–ठिनी हुँदै जाने पदमार्ग छोटो र सहज भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा यस मार्गमा पर्यटकको चाप अपेक्षाकृत कम रहेको बताइएको छ।
यसैबीच, नमखुखर्कदेखि माथिको करिब ३०० मिटर जीर्ण पदमार्गमा ग्याबिन पर्खाल निर्माण गरी पदमार्गको स्तरोन्नति गरिएको छ। हिमपहिरो र सुक्खा पहिरोका कारण क्षति पुग्ने पदमार्गको मर्मत तथा सुधारको काम एक्याप जोमसोम र संरक्षण व्यवस्थापन समितिले निरन्तर गर्दै आएका छन्।
नमखुखर्कबाट करिब पाँच घण्टाको उकालो यात्रा गरी पाँच हजार २४५ मिटर उचाइको मेसोकोन्दा पास पार गरेपछि करिब एक घण्टामा तिलिचो ताल पुग्न सकिन्छ। यस पदमार्गबाट पर्यटकले नीलगिरि, धौलागिरिलगायत हिमशृङ्खलाको मनोरम दृश्यसँगै वन्यजन्तु तथा याक–चौरीको बासस्थानसमेत अवलोकन गर्न सक्छन्।