Jul 07 2026

Jul 07 2026 | मंगलवार, आषाढ २३ गते २०८३

राष्ट्रिय सभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार बहुमतले पारित भएको हो ।

राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो । 

यसअघि प्रतिनिधिसभा बैठकबाट असार ४ गते विनियोजन विधेयक पारित भएको थियो ।  यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको छ ।

अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका थिए । 

बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब र पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ । त्यस्तै राजस्व १४ खर्ब ५ अर्बको रहने र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहेको बजेटमा उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रहेको छ ।