Jul 04 2026

Jul 04 2026 | शनिवार, आषाढ २० गते २०८३

कर्णालीमा खसेको गाडी अझै भेटिएनल एक जनाको शव फेला, अन्यको खोजी जारी

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गबाट फोर्स गाडी करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको घटनामा एक जनाको शव फेला परेको छ भने अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शुक्रबार बिहान करिब ११: ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्ण प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त टोली घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । कर्णाली नदीको तीव्र बहावलाई ध्यानमा राख्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वय गरेर खोजी कार्य तीव्र बनाइएको छ ।

प्रहरीका अनुसार हालसम्म घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त विवरणका आधारमा गाडीमा चालकसहित पाँच जना सवार रहेको खुलेको छ । उनीहरूमा चालक तुलाराम सुबेदी, सहचालक रामप्रसाद सुबेदी, सिर्जना खड्का, मेखे तिरुवा र जेखे तिरुवा रहेका छन् ।

दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन् । आवश्यक कानुनी प्रक्रिया र शव परीक्षणपछि शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी अनुसन्धान तथा यथार्थ विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले घटनास्थल, सम्भावित स्थान, नदी किनार तथा अन्य जिल्लाका क्षेत्रमा समेत निरन्तर खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ ।