नेकपाका नेता झलनाथ खनालले वामपन्थी अब एक हुनैपर्ने बताएका छन् । जननेता मदन भण्डारीको ७५औ जन्म जयन्ती समारोहमा बोल्दै नेता खनालले समय परिस्थितिले अब वामपन्थीहरु एक हुनुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।
उनले आजको दिनबाट वामपन्थीहरुले एकताको शुरुवात गर्नुपर्ने बताउदै लामो समयदेखि फरक फरक विचारमा हिडेकोभएपनि अब एकहुनुपर्नेमा जोड दिएका थिए ।
उनले हालै भएको निर्वाचनमा कम्युनिष्टहरुले लज्जास्पद हार बेहोरेको उल्लेख गर्दै चुनावअघि कार्यगत एकता गरेको भए आज संसदमा कम्युनिष्टहरुको सय सिट भन्दा बढी भएको हुने दाबी गरेका थिए ।
विगतमा कम्युनिष्टहरुलाई करिब दुई तिहाई दिएको बताउदै नेता खनालले ८ बर्ष पनि नपुग्दै आज यस्तो अवस्था आएको बताए । उनले सत्तामा हुदा कृषि क्रान्ति गर्न नसकेको, भूमि सुधार लागु गर्न नसकेको बताए । अहिले युग, क्रान्ति धेरै परिवर्तन भइसकेको भएपनि कम्युनिष्टहरुले पुरानै कुरा गरेर अलमलिएको आरोप लगाए ।
उनले सबै कम्युनिष्टहरुलाई एक बनाएर अगाडी जान सकेमात्र मदन भण्डारीमाथि सच्चा श्रद्धाञ्जली हुने बताए ।