चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिन आज हुने भनिएको बन्दसत्र अझै शुरु हुन सकेको छैन ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले प्राविधिक पक्ष मिलाउन समय लागेकाले बन्दसत्र शुरु हुन ढिला भएको जानकारी दिएका छन् ।
यसअघि आज बन्दसत्र साढे ८ बजेदेखि शुरु गर्ने कार्यतालिका सार्बजनिक गरिएको थियो । बन्द सत्र समयमा शुरु हुन नसक्नुको प्रमुख कारण प्रतिनिधि विवाद रहेको छ ।
मधेश प्रदेशसहित अन्य प्रदेशका प्रतिनिधि छनौटमा देखिएको विवाद र उजुरी टुंगो लगाउन नसक्दा महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । यहि विवादकै कारण अहिलेसम्म प्रतिनिधि कार्ड समेत वितरण गरिएको छैन ।
रास्वपामा सभापतिमा रवि लामिछाने निर्बिरोध चयन हुदैछन् भने अन्य पदमा चुनाव हुने देखिएको छ । धेरै जसो प्रतिनिधिहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेर भोट माग्न शुरु गरेका छन् । कतिपयलाई निर्वाचन आयोगले तय गरेको २१ समर्थक जुटाउन मुश्किल परेको बताएका छन् ।
मनोनयन दर्ता गर्दा आयोगले सभापतिमा ५१ हजार शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक हुनुपर्ने तोकेको छ भने पदाधिकारीमा उम्मेदवारी दिनेले ४१ हजार शुल्क, एक प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने तोकेको छ । त्यसैगरी केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने तोकिएको छ । त्यस्तै आयोगले उम्मेदवारी दर्ता गर्दा मनोनयन पत्रसहित, उम्मेदवारी शुल्क बुझाएको रसिद, अनुशासन कारवाहीमा नपरेको स्व-घोषणा पत्र, पार्टी सदस्यताको प्रतिलिपि र पासपोर्ट साइज फोटो २ प्रति आवश्यक हुने जानकारी दिएको छ ।