शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने आँप, मूला, गाँजर लगायतबाट बनाइने अचारलाई केवल घरायसी परिकारका रूपमा मात्र लिन्थिन् । परिवारका लागि थोरै मात्रामा बनाइने अचार केही दिनमै कुहिने, लेउ जम्ने र स्वाद बिग्रिने समस्या सामान्यजस्तै थियो । सरसफाइ र संरक्षणका विधिबारे जानकारी नहुँदा अचार लामो समय टिकाउन सकिँदैनथ्यो ।
अहिले अवस्था फेरिएको छ । पार्वतीदेवीमात्रै होइन, उनजस्तै अन्य महिलाहरू पनि व्यावसायिक रूपमा अचार उत्पादन गर्न सक्षम भइन् । तालिममार्फत सिकेको सीप र आधुनिक विधिको प्रयोगले उनहरू घरको बारीमै उपलब्ध फलफूल तथा तरकारीलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्ने कार्यमा जुटेका छन् ।
नगरपालिकाको उद्यम विकास शाखाले आत्मनिर्भर बनाउने उद्देश्यले १० जना स्थानीय महिलालाई व्यावसायिक अचार उत्पादनसम्बन्धी तालिम प्रदान गरेको छ । दक्ष प्रशिक्षकमार्फत सञ्चालन गरिएको तालिमले महिलालाई अचार उत्पादनको परम्परागत शैलीबाट व्यावसायिक उत्पादनतर्फ डोहोर्याएको छ ।
“पहिले अचार बनाउँदा सरसफाइलाई त्यति महत्व दिइँदैनथ्यो”, बन्दनाकुमारी बोहराले भनिन्, “अहिले हात राम्ररी धुने, पञ्जा लगाउने, मास्क प्रयोग गर्ने र कपाल छोप्नेजस्ता कुरालाई अनिवार्य रूपमा अपनाउँछौँ, यसले अचारको गुणस्तर र टिकाउपन दुवै बढाएको छ ।”
तालिमपछि महिलाहरूले गाँजर, मूला, लसुन, काउली, तितेकरेला, आँप, अमला, बयर, च्याउलगायतका स्थानीय रूपमा उपलब्ध फलफूल तथा तरकारीबाट विभिन्न प्रकारका अचार बनाउन सिकेका छन् । घरमै उत्पादन हुने सामग्री प्रयोग हुने भएकाले उत्पादन लागत कम लाग्ने र स्थानीय कृषिजन्य उत्पादनको उपयोग पनि हुने गरेको छ ।
अचार उत्पादनको प्रक्रिया पनि अब व्यवस्थित र व्यावसायिक बनेको छ । उद्यमतर्फ अग्रसर महिलाका अनुसार अचार बनाउन प्रयोग हुने फलफूल तथा तरकारीलाई पहिले सफा पानीले राम्ररी धोइन्छ । त्यसपछि स्वच्छ भाँडामा काटेर आवश्यकताअनुसार उमालिन्छ । पानी पूर्ण रूपमा सुकाएपछि नुन तथा अन्य आवश्यक मसला तताइएको तेलमा मिसाएर तयारी गरिन्छ । अचारलाई सफा प्लास्टिक वा सिसाको बट्टामा प्याकिङ गरिन्छ । उत्पादनको नाम, मिति र आवश्यक विवरणसहितको लेबल टाँसेपछि मात्रै बजारमा पठाउनका लागि तयार हुने स्वस्तिमा चौधरीले बताइन् ।
“तालिमले हामीलाई केवल अचार बनाउन मात्र सिकाएको छैन, गुणस्तरीय उत्पादन कसरी गर्ने भन्ने पनि सिकाएको छ”, समूहमा आबद्ध चौधरीले भनिन्, “हामीले १० जनाको समूह बनाएर उत्पादन सुरु गरेका छौँ, अहिले बजार व्यवस्थापनका लागि प्रशिक्षकले सहयोग गर्ने आश्वासन दिएकी छन्, पछि आफैँ बजार विस्तार गर्ने योजना छ ।”
उनका अनुसार अचार उत्पादनका लागि छुट्टै स्थानको अभाव हुन नदिन वडा कार्यालयले कोठा उपलब्ध गराएको छ । यसले महिलालाई व्यवसाय सञ्चालन गर्न थप सहज बनाएको छ । वडासचिव श्याम डगौराले महिलाको उद्यमशीलतालाई प्रोत्साहन गर्न वडाको खाली रहेका कोठा उपलब्ध गराइएको बताइन् ।
“व्यवसाय सुरु गर्न चाहने महिलालाई प्रारम्भिक चरणमा स्थानको समस्या नहोस् भनेर कोठा उपलब्ध गराएका हौँ”, उनले भनिन्, “व्यवसाय विस्तार हुँदै गएपछि उनीहरूले आफ्नै व्यवस्थापनमा अन्यत्र कोठा खोजेर सञ्चालन गर्छन् ।”
नगरपालिकाको उद्यम विकास शाखाले तालिमसँगै आवश्यक उपकरण पनि अनुदानमा उपलब्ध गराएको छ । अचार उत्पादनका लागि आवश्यक चक्कु, भाँडाकुँडा, मिक्स्चर मेसिनलगायतका सामग्री महिलालाई वितरण गरिएको छ ।
उद्यम विकास शाखाकी कर्मचारी शान्ता साउदका अनुसार महिलालाई सीपमूलक तालिमसँगै आवश्यक सामग्री उपलब्ध गराएर स्वरोजगारतर्फ अग्रसर गराउने उद्देश्य राखिएको छ ।
“महिलालाई उद्यमी बनाउनु हाम्रो मुख्य लक्ष्य हो”, उनले भनिन्, “तालिमपछि उत्पादन सुरु गर्न सहज होस् भनेर आवश्यक सामग्री पनि अनुदानमा उपलब्ध गराएका छौँ, महिलाले आफ्नै व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनून् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।”
स्थानीयस्तरमा उत्पादन हुने फलफूल तथा तरकारीको उपयोग गरेर अचार उत्पादन गर्दा खाद्य सामग्रीको संरक्षणमात्र नभई अतिरिक्त आम्दानीको अवसर पनि सृजना हुनेछ ।
“सिजनमा खेर जाने आँप, अमला, बयर, मूला वा अन्य तरकारीलाई प्रशोधन गरेर बजारयोग्य उत्पादनमा रूपान्तरण गर्न सकिने भएकाले यसले कृषि र उद्यमलाई जोड्ने काम गरेको छ”, उनले भनिन् ।
अचारमा प्रयोग हुने धेरैजसो सामग्री स्थानीय बारीमै उत्पादन हुने भएकाले उत्पादन लागत कम हुने र नाफाको सम्भावना बढी रहने उर्मिला चौधरीले बताइन् । घरायसी काममै सीमित महिलाका लागि यस्तो व्यवसाय आम्दानीसँगै आत्मविश्वास बढाउने माध्यम बनेको उनले उल्लेख गरिन् ।
ग्रामीण क्षेत्रमा महिलाको आर्थिक सहभागिता बढाउन, घरेलु सीपलाई व्यवसायसँग जोड्न तथा स्वरोजगारका अवसर सृजना गर्न तालिम प्रभावकारी भएको उद्यम शाखाका प्रमुख धनबहादुर चौधरीको भनाइ छ । उनका अनुसार तालिमपछि व्यावसायिक उत्पादनमा होमिएका शुक्लाफाँटाका महिला अब केवल अचार बनाउने गृहिणीमात्र होइनन् । आफ्नै ब्रान्ड स्थापना गरेर बजारमा प्रतिस्पर्धा गर्ने उद्यमी बन्ने तयारीमा छन् ।
घरको बारीमा फल्ने तरकारी र फलफूलबाट सुरु भएको यो प्रयासले महिलालाई आर्थिक रूपमा सबल बनाउनेमात्र होइन स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्दै ग्रामीण महिलाको आत्मनिर्भरताको नयाँ अभ्यासका रूपमा रहेको छ ।