नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सम्बोधन गर्दै नेपाली युवाहरूका लागि विश्वकप फुटबल हेर्न सकिने उपयुक्त वातावरण मिलाइदिन आग्रह गरेका छन्।
संसारभर फिफा विश्वकप–२०२६ को रौनक चलिरहँदा नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहलाई यो युवा र देशका लागि एउटा ठूलो अवसर भएको उल्लेख गर्दै यसको सहजीकरण गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री शाहको कार्यशैली र युवा टिमलाई संकेत गर्दै नेता भण्डारीले लेखेका छन्, बालेन जी ! अवसरको प्रयोग गर्ने कि ? तपाईं युवा—टिम पनि युवा ! विश्वकप सुरु भएको छ। यदि नेपाली युवाहरूलाई विश्वकप हेर्न सकिने वातावरण मिलाइदिनु भयो भने, त्यसको प्रभाव धेरै टाढासम्म पुग्नेछ।
विश्वकप हेर्ने वातावरण बनेमा नेपाली बालबालिका र युवाहरूले खेलको प्राविधिक ज्ञान मैदानबाटै सिक्ने उनको बुझाइ छ। हाम्रा साना–साना युवाले बल हान्न, रक्षा गर्न, बल घुमाउन र गोल गर्न यहीँबाट सिक्नेछन् । यो तपाईंका लागि पनि अवसर हो, युवाका लागि पनि अवसर, भण्डारीले भनेका छन् ।
विश्वका युवाहरू खेल र सङ्गीतप्रेमी रहेको चर्चा गर्दै सही वातावरण र इच्छाशक्ति भए नेपाली युवाहरूले पनि विश्वकप खेल्न र जित्न सक्ने दाबी उनले गरेका छन् । देशमा प्रजातान्त्रिक व्यवस्था भएकै कारण जनताको विश्वास जितेर बालेन प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले थपेका छन्, अवसरको व्यवस्था गरिदियो भने नेपाल नै फुटबलको केन्द्र बन्न सक्दछ। विश्वकप जित्न सक्छन् ! हामी गोर्खाज हौँ ! यस्तो अवसर इच्छाशक्ति भएको भाग्यमानीलाई समयले मिलाउँछ।
प्रधानमन्त्री शाहले युवा पुस्ताको भावना बुझेर सार्वजनिक स्थल वा उपयुक्त माध्यमबाट विश्वकप हेर्ने प्रबन्ध मिलाएमा त्यसले खेल क्षेत्रको विकासमा दूरगामी महत्त्व राख्ने नेता भण्डारीको विश्वास छ।