Jun 15 2026

Jun 15 2026 | सोमवार, आषाढ १ गते २०८३

मन्त्री सुनिल लम्सालको निर्देशन- काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन !

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनले दिएको अभिव्यक्तिका कारण भाइरल बनेको हो । 

भिडियोमा पूर्वाधारमन्त्री लम्सालले भनेका छन्, “यहाँको जो यो पोलवाल हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टर (ठेकेदार) कहाँ छ खोजेर ल्याउनु । तेस्लाई पनि यहीँ राख्नु । घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू । मतलब भएन । उनीहरूले चाँडोभन्दा चाँडो पोल सार्नुपर्‍यो । यहाँको पब्लिकले धेरै दुःख पायो ।” 

आइतबार मन्त्री लम्साल बुटवलदेखि निरीक्षण गरी काठमाडौं फर्किएका थिए।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मन्त्री लम्सालले समयमा काम गर्न भनेर निर्देशन दिएको बताइन्।

'उहाँ हिजो निरीक्षणका लागि आउनुभएको थियो। हामी पनि जिल्ला सुरक्षा समितिको टिम गएका थियौं। त्यस क्रममा उहाँले काममा ढिलासुस्ती नगरौं भन्ने निर्देशन दिनुभएको हो,' उनले भनिन्।

नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) की आयोजना प्रमुख एवं सिडिई सजना अधिकारीले सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच तीन वर्ष अगाडि नै बिजुलीको पोल सार्ने सम्झौता भएको बताइन्।

'बिजुलीका पोलहरू विद्युत प्राधिकरणले सार्न पर्ने भन्ने थियो। प्राधिकरणले पनि ठेक्का लगाएको थियो। तर ठेकेदार कम्पनीले सार्नुपर्ने पोल सारेको छैन। अहिले हाम्रो बाटोमा काम गर्ने ठाउँ नै भएन। पोल नहट्दा अप्ठ्यारो भएको छ,' उनले भनिन्।