चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, हिमालय संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ गहिरो बनाउनुपर्नेमा जोड दिएका छन् ।
चाइनिज एकेडेमी अफ साइन्स (सीएएस) र इन्स्टिच्यूट अब तिब्बतीय प्लाटो रिसर्च इन्स्टिच्युट (आईटीपीकास) ले गरेको उच्चस्तरीय अन्तरक्रियामा बोल्दै मन्त्री खनालले हिमालय क्षेत्रले भोगिरहेको जलवायु संकट नेपाल वा चीनको मात्र नभई सम्पूर्ण दक्षिण एसियाको साझा चुनौती बनेको बताएका हुन् ।
कार्यक्रमको सुरुवातमा चाइनिज एकेडेमी अफ साइन्सका अन्तर्राष्ट्रिय सहकार्य ब्युरोका महानिर्देशक लिउ वेइदोङले नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्दै वैज्ञानिक सहकार्य दुवै देशबीचको सम्बन्धको महत्त्वपूर्ण आयाम बनेको बताए ।
यस कार्यक्रममा चिनियाँ विज्ञान प्रतिष्ठानका अन्तर्राष्ट्रिय सहकार्य ब्युरोका महानिर्देशक लिउ वेइदोङ, आईटीपीकासका कार्यवाहक निर्देशक झुआङ सुलियाङ, विश्वप्रसिद्ध हिमालय तथा तिब्बती पठार वैज्ञानिक याओ तानदोङ लगायतका अधिकारीहरू सहभागी थिए ।
यस्तै, मन्त्री खनालले नेतृत्व गरेको नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावास तथा लगानी बोर्डका अधिकारीहरू पनि सहभागी थिए ।
कार्यक्रममा जलवायु परिवर्तन, हिमनदी अध्ययन, जैविक विविधता, वातावरणीय संरक्षण, विपद् जोखिम न्यूनीकरण, वैज्ञानिक शिक्षा, अनुसन्धान पूर्वाधार विकास तथा नेपाल–चीन विश्वविद्यालयहरूबीचको भावी सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो । बैठकको अन्त्यमा दुवै पक्षले विद्यमान सहकार्यलाई अझ संस्थागत र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।