Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

चर्को गर्मी : कोहलपुरका विद्यालय तीन दिन बन्द

बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए । 

“वर्षा भएर गर्मी घट्ने अवस्था आए तीन दिन मात्रै बिदा हुन्छ नभए थप दुई दिन बिदा हुन सक्छ,” उनले भने । उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले सो  निर्णय गरेको थियो । 

कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख मिजारले यही जेठ २५ देखि २७ गतेसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक ३३ र संस्थागत ५० विद्यालयमा नियमित पठनपाठन स्थगन गरिएको बताए । 

मौसमको अवस्था तत्काल सुधार हुने सम्भावना नदेखिएको र तापक्रम लगातार बढ्दो क्रममा रहेकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर बिदा गरिएको उनको भनाइ छ । जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार त्यहाँ आजको अधिकतम तापक्रम ३९ दशमलव चार रहेको छ । 

कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले नेपालगन्जमा ३९ दशमलव दुई र खजुरामा ३८ दशमलव आठ अधिकतम तापक्रम रेकर्ड भएको जानकारी दिए ।