Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

महानायक राजेश हमाललाई हर्क साम्पाङको प्रस्ताव- अब माटो चिन्हबाट चुनाव लड्नुपर्छ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले अभिनेता राजेश हमाल लाई आफ्नो पार्टीको ‘माटो’ चुनाव चिन्हबाट निर्वाचन लड्न प्रस्ताव गरेका छन्। आज आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै साम्पाङले राष्ट्रिय मुद्दामा स्पष्ट धारणा राख्ने व्यक्तिहरू राजनीतिमा आउनुपर्ने आवश्यकता औँल्याउँदै हमाललाई प्रत्यक्ष रूपमा चुनावी मैदानमा आउन आग्रह गरेका हुन्।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “राजेश हमालज्यू, अब माटो चुनाव चिन्हबाट चुनाव लड्नुपर्छ।” पछिल्लो समय सीमा, राष्ट्रियता र नेतृत्वसम्बन्धी विषयमा अभिनेता हमालले सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै आएका छन्। विशेषगरी ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ फरक विषय भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको विचारले व्यापक चर्चा पाएको थियो।

हमालको उक्त अभिव्यक्तिपछि विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट प्रतिक्रिया आइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष राईले उनलाई राजनीतिमा प्रवेश गर्न खुला प्रस्ताव गरेका हुन्। यद्यपि हमालले राईको प्रस्तावबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। लामो समयदेखि कला क्षेत्रमा सक्रिय रहेका हमाल प्रत्यक्ष राजनीतिमा भने संलग्न भएका छैनन्।