Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

विश्व वातावरण दिवसका अवसरमा पर्सा गाउँपालिकामा विविध कार्यक्रम सम्पन्न

हरेक वर्ष जुन ५ का दिन विश्वभर मनाइने विश्व वातावरण दिवस यस वर्ष पनि पर्सा गाउँपालिकामा विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाइएको छ।

वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने तथा प्रकृतिप्रति जिम्मेवार व्यवहार अपनाउन प्रेरित गर्ने उद्देश्यका साथ गाउँपालिकाभर विविध कार्यक्रम सञ्चालन गरिएको पर्सा गाउँपालिकाले जनाएको छ। दिवसका अवसरमा पर्सा गाउँपालिका–४ स्थित जिङ्गडवामा रहेको आधारभूत प्राविको परिसरमा विभिन्न प्रजातिका करिब २०० वटा बिरुवा वृक्षारोपण गरिएको छ जसको अध्यक्षता सोहि वडाका अध्यक्ष सुबोध राय यादवले गरेका थिए ।

यस्तै, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र तथा बागमती समाज सेवा को समन्वयमा ३२३६ जना बालबालिकालाई करिब ७ हजार रुपैयाँ बराबरका फलफूलका बिरुवा तथा अध्ययन सामग्री वितरण गरिएको छ। त्यसैगरी पर्सा माध्यमिक विद्यालयमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको थियो। साथै, स्थानीय किसानहरूले पनि आफ्ना निजी जग्गाहरूमा वृक्षारोपण कार्यको सुरुवात गरेका छन्। वर्थिङ सेन्टर लगायत अन्य सार्वजनिक महत्त्वका स्थानहरूमा समेत सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रम गाउँपालिका प्रमुख धिरेन्द्र राय को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा सबैको साझा जिम्मेवारी रहेको विषयमा जोड दिइएको थियो।
पर्सा गाउँपालिकामा वन तथा वातावरण अधिकृतका रूपमा कार्यरत राजेन्द्र राय यादव ले वातावरण संरक्षण एवम् हरियाली प्रवर्द्धन अभियान अन्तर्गत चालु आर्थिक वर्षमा निजी किसान तथा सार्वजनिक जग्गाका लागि करिब ५० हजारको हाराहारीमा बिरुवा वितरण गरिसकिएको जानकारी दिए।

उनका अनुसार गाउँपालिकाले वातावरण संरक्षणलाई दीर्घकालीन अभियानका रूपमा अगाडि बढाउँदै हरियाली प्रवर्द्धन, सरसफाइ तथा वृक्षारोपणका कार्यक्रम विगतदेखि नै निरन्तर सञ्चालन गर्दै आएको छ र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा अगाडि बढाइनेछ। विश्व वातावरण दिवसका अवसरमा आयोजित यी कार्यक्रमहरूले वातावरण संरक्षणप्रति स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै हरियाली विकास र स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।