Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

तेज तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डअनुसार गुणस्तर नभेटिएको ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ ।

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त तेल न्यूनस्तरको पाइएको जनाएको हो ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गरिएको नमुनाको विश्लेषण गर्दा नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड पूरा नभेटिएपछि सम्बन्धित ब्याचका सम्पूर्ण उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो ।

विभागले ऐनको दफा ३८(२) अनुसार सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सबै खाद्य पदार्थ बजारबाट फिर्ता गर्न तथा दफा ३८(४) बमोजिम बिक्री–वितरण नगर्न वा नगराउन आदेश जारी गरिएको जनाएको छ । विभागका अनुसार फिर्ता गर्न आदेश दिइएको उत्पादन आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेल हो । उक्त उत्पादनको ब्याच नम्बर २० रहेको छ भने उत्पादन मिति २०८२ फागुन २८ र उपभोग्य अवधि ६ महिना तोकिएको छ । यो तेल सिद्धार्थ आयल इन्डस्ट्रीजद्वारा रुपन्देहीको गुरबानियामा उत्पादन गरिएको विभागले जनाएको छ ।