Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

मन्त्री सस्मित पोखरेल- सरकारले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने नीति लियो

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए ।

सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरिएअनुरूप आज काठमाडौँ महानगरपालिका–४स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका हुन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघिबढ्ने सरकारको नीति रहेको स्पष्ट पारे । उनले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराए । 

मन्त्रालयको कार्यप्रगति विवरण सुनाउँदै मन्त्री पोखरेलले देशभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजनलगायत अन्य स्रोतसाधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गरे । यसअघि सबै विद्यालयलाई समाज बजेट पठाउँदा समस्या उत्पन्न भएको भन्दै उनले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ सोहीअनुरूप बजेट पठाइने उल्लेख गरे।

मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिए । स्थानीयले उठाएका सरोकार भएका विषयको गुनासो सुन्दै तिनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता उने बताए।

सार्वजनिक सुनुवाइमा स्थानीयले विद्यालय भर्ना शुल्कदेखि क्षेत्रगत समस्या सडक, बिजुली, खाने पानीलगायतका विषयमा गुनासो गरेका थिए । सो निर्वाचन क्षेत्रमा मेलम्चीको खानेपानी आई नपुगेकाले पानीको समस्या भोगिरहनुपरेको तथा जारको पानी फोहोर भएको गुनासो राखेका थिए । उनीहरूले विद्यार्थी भर्ना शुल्क, खानेपानीको समस्या, ढल व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसकेको, सडक बक्ति, सिसिटिभी व्यवस्थापनका विषय सम्बोधन गर्न मन्त्री पोखरेलसमक्ष आग्रह गरेका थिए । यस्तै त्रिवि सेवा आयोगको परीक्षा भएको छ महिना भइसक्दा पनि परीक्षाफल प्रकाशित नभएको गुनासो उनीहरूको गुनासो थियो । 

स्थानीय जनताको गुनासो सुनिसकेपछि शिक्षामन्त्री पोखरेलले विद्यार्थी भर्नाबारे स्थानीय तहलाई पत्राचार भई तोकिएबमोजिम गर्न निर्देशन दिइएको बताए। उनले खानेपानीको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण  विभागसँग समन्वय गरेर पानीको गुणस्तर मापन गरी सफा खानेपानीको सुनिश्चित गरिने बताए । त्यसैगरी उनले सडक बत्ती र सिसिटिभीको विषयमा काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए। मन्त्री पोखरेलले उपकुलपतिको छनोट प्रक्रिया सकिएलगत्तै त्रिवि सेवा आयोगलगायत सबै परीक्षाको परीक्षाफल नियमित समयमा ल्याइने विश्वास व्यक्त गरे ।

काठमाडौँ क्षेत्र नं ५ मा १५ वडामध्ये हरेक महिना कम्तीमा एक–एक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी अघिबढेको मन्त्री पोखरेलले उल्लेख गरे। उनले आफ्नो मन्त्रालय र सरकारको कामबारे जनतालाई सुसूचित गराइने कार्यक्रमलाई निरन्तरता दिइने पनि बताए ।

कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले जनसरोकारका विषयलाई संसद् र सरकारले आवश्यक सम्बोधन गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा क्षेत्र नं ५ का उल्लेख्य सङ्ख्यामा स्थानीय जनता, बुद्धिजीवी, समाजसेवीलगायत उपस्थिति थियो ।