Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्रधानन्यायाधीशमा सिफारिस शर्माले आफूविरुद्धका रिट दर्ता नगर्न निर्देशन दिएको खुलासा

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस मनोज शर्माले आफूविरुद्धका निवेदन दर्ता नगर्न प्रशासनलाई निर्देशन दिएको खुलासा भएको छ । 

सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशमा रिट दर्ता नगरिएको विषयमा मुख्य रजिस्ट्रार विमल पौडेलले प्रधानन्यायाधीशमा सिफारिस शर्माले दर्ता नगर्न निर्देशन दिएको बताएको उल्लेख गरेकी हुन् । उनले भनेकी छन्- ' यस सम्बन्धमा सम्पुन्र माननीय न्यायाधीशहरु समक्ष मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउदा प्रधानन्यायाधीश सिफारिश माननीय न्यायाधिशले नै निर्देशन दिनु भएकोले नगरेको भन्ने कुरा जानकारी गराउनु भयो ।' 

प्रधानले आजै दिउँसो १ बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उपरको निवेदनसमेत दर्ता गरी मंगलबार पेसी चढाउन आदेश दिएकी छन् ।  मल्लले लिखित आदेशमा भनेकी छन्-  'कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटाको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।’

संवैधानिक परिषद्ले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्चमा दिएको रिट सर्वोच्च प्रशासनले सुरुमा दरपिठ गरेको थियो ।