Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

लिग–२ अन्तर्गत आज नेपाल–स्कटल्यान्ड भिडन्त

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। त्रिकोणात्मक शृंखलाअन्तर्गत यसअघि मंगलबार भएको खेलमा दुई रनले पराजित भएको नेपाल आज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल बिहान ९ः३० बजे सुरु हुनेछ। घरेलु मैदानमा हुने यो खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ।

लिग–२ तालिकामा शीर्ष स्थानमा रहेको स्कटल्यान्ड उपाधि दौडलाई बलियो बनाउने लक्ष्यमा हुनेछ भने नेपाल स्कटल्यान्डलाई हराउँदै एकदिवसीय (ओडिआई) मान्यता जोगाउने अभियानमा छ। नेपाल र स्कटल्याण्ड एकदिवसीय क्रिकेटमा यसअघि ११ पटक खेलेका छन्, जसमा नेपालले ५ र स्कटल्याण्डले ५ जित हासिल गरेका छन् भने एक खेल बिना नतिजा सकिएको थियो । 

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २६ खेल खेलेर ९ जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा २० अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड भने अहिलेसम्म ३० खेलमा १६ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ । 

यस सिरिजमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।

त्यस्तै स्कटल्यान्ड टोलीमा कप्तान रिची बेरिङ्टनसहित म्याथ्यु क्रस, ब्राड्ली करी, ज्यास्पर डेभिडसन, ओलिभर डेभिडसन, माइकल इङ्लिस, ओवेन गोल्ड, ज्याक जार्भिस, ओली जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, जर्ज मुन्से, सफयान शरीफ र मार्क वाट रहेका छन् ।

यस सिरिज अन्तर्गत अब अर्को खेल मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ । लिग–२ का शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने भएकाले नेपालका लागि अबका हरेक खेल ‘गर या मर’ को अवस्थामा पुगेका छन्।