Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

लिग–२ : अमेरिकाविरुद्ध नेपाललाई १९६ रनको लक्ष्य, दीपेन्द्रको ५० विकेट पूरा

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले नेपालविरुद्ध १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको हो।

अमेरिकाका ओपनर स्मित पटेलले ८३ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। ८९ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि शेहन जयसूर्यासँग उनले १०० रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए।

तेस्रो नम्बरमा आएका जयसूर्याले ५० रन बनाए। उनले ५२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अमेरिकाका लागि दोस्रो अर्धशतक पूरा गरे। मिलिन्द कुमारले २८ रन जोड्दा अविजित रहेका हर्मित सिंहले १४ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका बलरले भने अमेरिकालाई ठूलो स्कोर बनाउन दिएनन्। उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ७.३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट लिए।

यस खेलसँगै ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन्। उनी नेपालबाट यो उपलब्धि हासिल गर्ने चौथो खेलाडी बने। यसअघि सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले उक्त उपलब्धि हासिल गरिसकेका छन्।

नेपाल आजको खेल जित्दै श्रृंखलामा पहिलो विजय निकाल्ने लक्ष्यमा छ। यसअघि नेपाल स्कटल्यान्डसँग डीएलएस प्रणालीका आधारमा २ रनले पराजित भएको थियो। अमेरिका भने प्रतियोगिताको शीर्ष स्थानमा उक्लने दाउमा मैदान उत्रिएको छ।