Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

जगदीश खरेलको चुनौती– म माथिको आरोप प्रमाणित भए राजनीति छोड्छु

रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडिएको भन्दै भ्रामक समाचारहरू प्रकाशित भएको जिकिर गरे ।

उनले स्मार्ट टेलिकमको प्रकरणमा जोडिएर आफूले एउटा बैठक, फाइल पारित गर्ने कुनै काम नगरेको बताए ।

‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर सुटुक्क स्वीट्जरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, भ्रामक र सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो । यसले मेरो मान, सम्मान, इज्जत, राजनीतिक जीवन, समग्र संसद् र मेरो पार्टीभित्र अपमान गरेको महसुस गरेको छ । यो संसद्मा रेकर्ड रहोस् भनेर यसको खेद र भर्त्सना गर्न चाहन्छु,’ उनले भने ।

उनले थप भने, ‘म खुला रुपमा चुनौती दिन चाहन्छु कि यो प्रमाणित गर, प्रमाणित गर्न सक्दैनौं भने पत्रकारिताको जीवनबाट पत्रिका बन्द गर्न सक्ने हिम्मत छ ?’

यदी आफू उक्त प्रकरणमा जोडिएको प्रमाणित भए सिंगो राजनीतिक जीवनबाट बिदा लिने समेत उनले घोषणा गरे ।