Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सरकारी जागिर छाडेर बाख्रापालनमा भुवानी पौडेल

म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेकी छन् ।
 
दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशु बहुउद्देश्यीय फार्मबाट सफलता हात पारेकी हुन् ।
 
“पाँच वर्षजति खाडीमुलुकमा वैदेशिक रोजगारी गरेर फर्केपछि विसं २०६६ देखि ११ वर्षसम्म बेनीको कृषि विकास कार्यालयमा सहयोगीको रुपमा काम गरेको थिए”, उनले भनिन्, “सङ्घीयतापछि जागिर छाडेर बाख्रा पाल्ने सोच पलायो । नौ वटाबाट सुरु गरेको फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् ।”
 
वार्षिक ३५ देखि ४० वटासम्म खसीबोका बिक्री गरेर रु पाँच लाखसम्म आम्दानी गर्ने पौडेलले तीन जना छोराछोरीलाई सदरमुकाम बेनीमा राखेर पढाउनुका साथै घरव्यवहार चलाउन सजिलो भएको बताइन् । खसीबोका बाहेक पाठापाठी पनि बिक्री हुने गरेको छ । 
 
ग्राहकहरु पाठापाठी र खसीबोका खोज्दै घरमै आउने गरेकाले बजारको समस्या छैन । पौडेलले बाख्रापालनसँगै ब्यवसायिक रुपमा सुन्तला र तरकारीखेती पनि गरेकी छन् । एक सय बोटमध्ये ४० बोट सुन्तलाले उत्पादन दिन थालेका छन् । थप एक सय सुन्तलाका बिरुवा रोपेर खेती विस्तार गरेकी छन्। 
 
वैदेशिक रोजगार र करारको जागिरको तुलनामा खेती किसानी र बाख्रापालनबाट सन्तुष्टि मिलेको पौडेलले अनुभव सुनाइन् । व्यवस्थित किसिमको खोर बनाएर जमुनापारी जातको बाख्रा पालेका पौडेलले उन्नत बोयर जातको एक वटा बोका सहयोग पाएकी छन् । 
 
फार्मको पूर्वाधार विस्तारमा पौडेलले सरकारी निकायबाट सहयोगको अपेक्षा गरिन्। घरवरपरको पाखामा चरनमा आधारित बाख्रापालन गरेका पौडेलले बहुवर्षीय डालेघाँस खेती पनि गरेकी छन् । 
 
बाख्राको सुरक्षाका लागि ठूला जीउडाल भएका एक वटा भोटे जातको सहित दुई वटा कुकुर पालेकी छन् । रातको समयमा खोर वरपर रुघेर बस्ने कुकुर जङ्गलमा बाख्रा चराउन लैजाँदा अघिपछि गरेर सुरक्षा दिने गर्छ । 
 
जङ्गली जनावरको सङ्केत पाएमा भुकेर जानकारी दिने कुुकुरले भिडेर बाख्रालाई आक्रमणबाट बचाउन सहयोग गरेको कृषक पौडेलले बताए । भुवानीलाई बाख्रापालनमा श्रीमती भगवतीले पनि सघाए ।