राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल सँग सम्बन्धित विवादमा विद्यालय प्रशासनले औपचारिक रूपमा माफी मागेको छ।
खिजीदेम्बा गाउँपालिका–२ रगनीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सांसद पोखरेलको मानमर्यादामा आघात पुगेकोप्रति क्षमायाचना गरेका हुन्।
गत वैशाख १० गते विद्यालय निरीक्षणका क्रममा पुगेका सांसद पोखरेललाई गेटमा स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापक मगरलाई हप्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। आलोचना चुलिएपछि सांसद पोखरेलले यसअघि नै प्रधानाध्यापकसँग माफी मागेका थिए।