भोजपुर नगरपालिका–५, बोखिम क्षेत्रमा अविरल वर्षाका कारण सडक भत्किँदा आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। मध्यपहाडी पुष्पलाल राजमार्ग अन्तर्गत पर्ने उक्त सडक खण्ड क्षतिग्रस्त भएपछि सवारीसाधन सञ्चालन ठप्प बनेको हो।
स्थानीयका अनुसार लगातारको वर्षापछि सडकको केही भाग भासिएर भत्किएको छ, जसले गर्दा यात्रुहरू अलपत्र परेका छन्। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानीसमेत प्रभावित भएको छ भने बिरामी तथा अत्यावश्यक काममा हिँडेका सर्वसाधारणलाई सास्ती भइरहेको छ।
सम्बन्धित निकायले सडक मर्मतको तयारी थालेको जनाए पनि मौसम अनुकूल नभएसम्म तत्काल सञ्चालनमा ल्याउन कठिन हुने बताइएको छ।