भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स (यूएई) जानेको पासपोर्टमा अध्यागमन विभागले ‘काम गर्न मनाही’ र लेख्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । उक्त निर्णय विभागले बिहीबार (वैशाख ३) गते जारी गरेको हो ।
“कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीको लागि आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ,” विभागले विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यूएई जान लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी कडाइका साथ निषेध गरिएको छ । साथै अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न सरकारको २०८२ कात्तिक १३ गरेको निर्णय समेत विज्ञप्तिमा उल्लेख छ ।
यसै निर्णयानुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने गरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको दाबी विभागको छ ।
यधपी विभागले यात्रुहरूको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरण गरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा समेत काम गरिरहेको छ ।