Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

राप्रपाभित्र विवाद, बोलाइयो केन्द्रीय कार्यसम्पादन समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद सिर्जना भएको छ।

सांसद सरस्वती लामालाई राप्रपाले उपभामुख पदमा उम्मेदवार बनाएको थियो। आफ्ना सांसदबाहेक अर्को मत उनलाई नआएपछि उम्मेदवारी बनाएको विषयलाई लिएर पार्टीभित्र विवाद सिर्जना भएको हो।

महामन्त्री धवलशम्शेर राणाले पार्टीको संस्थागत निर्णयबिना नै उपसभामुख पदको उम्मेदवारी दिइएको भन्दै फेसबुक मार्फत उनले यस्तो लेखेका छन् । 

‘म प्रस्ट पार्न चाहन्छु— हामी गणतन्त्र विरोधी आन्दोलनमा छौं। गणतन्त्रमा संविधानको निःशर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा हामी सहभागी हुनुहुँदैन। पार्टीको प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा मेरो हिजो पनि सहमति थिएन, आज पनि छैन र भोलिका दिनमा पनि हुनेछैन ।'

प्रतिनिधि सभामा राप्रपाका ५ जना सांसद छन्। राप्रपाले फागुन २१ को प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ १६३ ठाउँमा उम्मेदवारी दिएको राप्रपाले १ सिटमा मात्रै जितेको थियो। समानुपातिकतर्फ भने ४ सिट जितेको थियो।

राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाखको १६ गते बस्ने गरी आह्वान गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।