राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ। सोमबार सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटलाई हेर्दाहेर्दैमा राख्ने निर्णय गरेको हो। यस रिटमाथि मंगलबार सुनुवाइ हुने तय गरिएको छ।
सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । निवेदकको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। रिटमा मुद्दा दायर गर्नुअघि महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्लामा दायर मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी दाबी हटाउँदै अभियोगपत्र संशोधन गर्ने निर्णय लिइसकेको थियो ।
उक्त निर्णयविरुद्ध दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले रिट दायर गरेका थिए। यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी कागजात झिकाएको थियो ।