नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म ‘एक मुठी बादल’ निर्माण पक्षले टिजर सार्वजनिक गरको छ । टिजरमा नायिका आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’ को सेरोफेरोमा घुमेको छ । टिजरमा फिल्मका अन्य मुख्य कलाकारलाई समेटिएको छ ।
फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् ।
नायिका शर्माले फिल्मको टिजर जन्मदिनकै दिन सार्वजनिक हुनुलाई मिठो संयोगका रुपमा ग्रहण गरेकी छन् । उनले फिल्मबारे भनिन्, ‘यो फिल्म मेरा विशेष छ । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि म शब्दमा भन्न सक्दिनँ ।’
उनले सामाजिक सञ्चालमा लेखेकी छिन्- जन्मदिनहरू त आउँछन्, जान्छन्… समयसँगै सम्झनामा हराउँदै पनि जान्छन्। तर केही जन्मदिन यस्ता हुन्छन्, जसले मनको कुनै गहिरो कुनामा सदाका लागि आफ्नो चिनो छोडेर जान्छन्। आज मेरो जीवनमा त्यस्तै एउटा विशेष दिन हो। आज, मेरो जन्मदिनकै अवसरमा, ‘एक मुठ्ठी बादल’ को टिजर सार्वजनिक भएको छ—यो केवल एउटा चलचित्र होइन, यो मेरो भावना, मेरो सपना र मेरो आत्माको एक अंश हो। यसले मेरा धेरै अनुभूति र यात्राहरू बोकेको छ। त्यसैले आजको दिन मेरो लागि केवल जन्मदिन होइन, एउटा भावनात्मक उत्सव जस्तै बनेको छ। जन्मदिनमा यहाँहरुले आशीर्वाद र शुभेच्छा दिनु भएको छ । यो चाहिँ मेरो काेसेली ल ।