Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सीताराम दुधको बिक्रीमा रोक

सीताराम गोकुल मिल्क्सले उत्पादन गर्ने दुधको बिक्री रोक्का गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीको स्थलगत अनुगमन गर्दा कम्पनीको प्याकेट प्रशोधित दुध सरकारले तोकेको गुणस्तरभन्दा कम पाइएपछि विक्रीमा रोक लगाएको हो । विभागका अनुसार दुधको चिल्लो पदार्थ तीन प्रतिशत हुनुपर्नेमा १.४ प्रतिशत मात्रै रहेको पाइएको थियो । 

विभागले भनेको छ- 'प्रशोधित दुधको लागि नेपाल सरकारले तोकेको न्यूनतम अनिवार्य गुणस्तर मापदण्डमा दुधको चिल्लो पदार्थ ३.० प्रतिशत हुनपर्नेमा उद्योगमा रहेको लगबुकमा १.४ प्रतिशत मात्र पाइएको ( उत्पादन मितिः २०८२-१२-०२, ब्याच नं: २८६१) हुँदा उत्पादन भई विक्री वितरणको लागि कोल्ड स्टोरमा तयारी अवस्थामा रहेको सोही ब्याचको प्रशोधित दुधलाई उद्योगमा रहेको प्रयोगशालामा परिक्षण गर्दा पनि दुधमा चिल्लो पदार्थको मात्रा नेपाल सरकारले प्रशोधित दुधको लागि तोकेको न्यूनतम अनिवार्य गुणस्तर मापदण्ड भन्दा कम पाइएको छ ।'

विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले उत्पादन भई विक्री वितरणको लागि कोल्ड स्टोरमा तयारी अवस्थामा रहेको ५१९ क्रेट (५०० मिलि * २० पोका प्रति क्रेट) प्रशोधित दुध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा (३३) बमोजिम विक्री वितरण नगर्ने निर्देशन सहित रोक्का राखिएको जानकारी दिएकी छन् । 

साथै थप अनुसन्धानको लागि प्रयोगशाला परिक्षणनार्थ उक्त ब्याचको दुधको नमुना संकलन गरिएको उनले बताएकी छन् ।