Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मुगुका चार उम्मेदवारले बुझाए निर्वाचन खर्च, सबैभन्दा कम रास्वपा

प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै मुगुका चारवटा राजनीतिक दलले मात्र आफ्नो निर्वाचन खर्च बुझाएका छन् । जम्मा सातवटा दलले फागुन २१ को निर्वाचनमा भाग लिएका मध्ये एक समानुपातिकसहित चारजना प्रत्यक्ष तर्फका उम्मेदवारहरुले आफ्नो निर्वाचन खर्च बुझाएका हुन ।

जसमा नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका रोकायाको चुनाव अवधिभर भएको खर्च सार्वजनिक गरेका हुन् ।

विवरण अनुसार चुनाव अवधिमा रोकायाको १८ लाख १४ हजार खर्च भएकोछ । जसमा प्रचारप्रसार सामग्री छपाई एक लाख पचास हजार, प्रचारप्रसार सामग्री ढुवानी ७० हजार, गोष्ठी जनसभा कार्यकर्ता परिचालन ६ लाख ५० हजार सवारी साधन डिजेल पेट्रोल ७ लाख ४१ हजार, कार्यालय सञ्चालन १० लाख लगायत अन्य विविध खर्च भएको छ ।

साथै, नेपाली कांग्रेसबाट उम्मेदवार तथा विजयी भएका खड्ग बहादुर शाहीले निवार्चन खर्च सार्वजानिक गरेका छन् । उनको चुनाव खर्च १३ लाख ११ हजार रहेको छ । उनले यातायात तथा ईन्धन खर्चमा १ वटा जिप रिर्जभ तथा दुई वटा मोटरसाईकल गरेर ३ लाख २५ हजार खर्च भएको छ ।

त्यस्तै खाद्यन्न तथा रासनमा एक लाख १० हजार, पालिका तथा वडा स्तरीय चुनाव प्रचार प्रसार १ लाख ३५ हजार, नमुना मतपत्र छपाई र मतदाता नामावाली दस्तुर ६२ हजार, मनोनयन दर्ता १० हजार, प्रचार प्रसार सामग्री एक लाख ५० हजार, स्टेशनरी तथा संचार खर्च ५० हजार, मतदाता प्रशिक्षण ६९ हजार, सचिवालय सञ्चालन एक लाख १० हजार र प्रत्येक बस्तिमा कोण सभा तथा विविध खर्च दुई लाख ९० हजार खर्च गरेका हुन।

नेपाली कम्युनिष्ठ पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीको खर्च १६ लाख ८५ हजार रहेको छ । त्यस्तै सबै भन्दा कान्छा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भुवन टमटाले दुई लाख ६० हजार खर्च गरेका छन् ।

खर्च बुझाएका दलहरु मध्ये सबैभन्दा कम खर्च भुवन टमटाको रहेको छ । त्यस्तै प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट समानुपातिक उम्मेदवार बनेकी मिरा कुमारी मल्लले आफ्नो चुनावी खर्च बुझाएकी छन् । उनको ४७ हजार ३ सय रहेको चुनावी खर्च निवार्चन कार्यालय मार्फत बुझाएको जिल्ला निर्वाचन कार्यालय मुगुका कार्यालय प्रमुख कमलप्रसाद उपाध्यायले बताए ।