Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

पार्टी सुधारका लागि कांग्रेस महामन्त्री पौडेलले सुझाव मागे

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा सुभेच्छुकसँग सुझाव मागेका छन् । आज सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन् ।

‘भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आईसकेको छ । पुषमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाइ समेत आत्मसात गर्दै पार्टीको नियमित महाधिवेशनको छिट्टै आयोजना गर्नुपर्नेछ । यिनै पृष्ठभूमिमा पार्टीलाइ आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली काङ्ग्रेसको  केन्द्रीय कार्य समितिको बैठक बस्दैछ,’ उनले लेखेका छन्,‘यसै परिस्थितिमा नेपाली कांग्रेसमा गर्नु पर्ने नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयहरु के हुन सक्लान् ?  सुझाव उपलब्ध गराई सहयोग गरिदिनुहुन नेपाली कांग्रेसका समर्थक तथा सुभेच्छुक सबैमा विनम्र अनुरोध गर्दछौं ।’

महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कांग्रेसले आम निर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्दैछ । यसैका लागि महामन्त्री पौडेलले सुझाव मागेका हुन् । महामन्त्री पौडेलले पार्टीको आधिकारिक इमेल  [email protected] तथा सम्पर्कका माध्यमबाट सुझाव दिन सकिने बताए ।