Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

कांग्रेस उम्मेदवारलाई मत मागेको भन्दै एमालेद्वारा गाउँपालिका उपाध्यक्षलाई पार्टीबाट निष्कासन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै साँगुरीगढी गाउँपालिका की उपाध्यक्ष मुना राई लाई पार्टीबाट निष्कासन गरेको छ।

उपाध्यक्ष राईमाथि निर्वाचनका क्रममा नेपाली कांग्रेस का उम्मेदवारलाई भोट मागेको आरोप लागेको छ। यसै आधारमा धनकुटा जिल्ला कमिटीको बैठकले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको जनाएको छ।

एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला का अनुसार राई लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र पटक–पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि अटेर गरेपछि कारबाही गर्नुपरेको हो। यसअघि भीम राई को संयोजकत्वमा गठित छानबिन समितिले घटनाबारे अध्ययन गरी मुना राईलाई कारबाही गर्न सिफारिस गरेको थियो।

उक्त निर्वाचनमा धनकुटाबाट राजेन्द्रकुमार राई पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।