Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

इरान युद्धपछि रुसी तेल र ग्यासको माग बढ्यो

ईरानमा जारी युद्धका कारण विश्व ऊर्जा बजारमा प्रभाव देखिन थालेको छ। यसैबीच रुसको राष्ट्रपति कार्यालयले उक्त संघर्षका कारण रुसी तेल र ग्यासको माग बढेको जनाएको छ।

रुसका राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोवले रुस तेल र ग्यास आपूर्तिका हिसाबले विश्वका लागि भरपर्दो आपूर्तिकर्ता रहेको बताएका छन्। उनका अनुसार वर्तमान अवस्थाका कारण धेरै देश ऊर्जा आवश्यकताका लागि रुसतर्फ फर्किन थालेका छन्।

ईरानसँग सम्बन्धित युद्धका कारण विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हर्मुज जलडमरूमध्य लगभग बन्दजस्तै भएको बताइएको छ। यही मार्गबाट विश्वभर पठाइने तेल र प्राकृतिक ग्यासको करिब पाँचौँ भाग आपूर्ति हुने गर्छ। मार्ग अवरुद्ध हुँदा धेरै देशको ऊर्जा आपूर्तिमा असर परेको छ ।

पेस्कोवका अनुसार ईरानमा जारी युद्धका कारण रुसी ऊर्जा स्रोतको माग बढिरहेको छ र धेरै देश ऊर्जा प्राप्तिका लागि रुसतर्फ ध्यान दिन थालेका छन् ।

यसैबीच एक दिनअघि अमेरिकाको अर्थ मन्त्रालयले भारतलाई ३० दिनको छुट दिएको छ । सो निर्णयअनुसार समुद्रमा रोकिएको रुसी तेल भारतले किन्न सक्ने व्यवस्था गरिएको बताइएको छ ।