Jun 12 2026

Jun 12 2026 | शुक्रवार, जेठ २९ गते २०८३

ट्रम्पले रोके इरान आक्रमण, नेतान्याहूलाई थिएन जानकारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारी अन्तिम चरणमा पुगेका बेला अन्तिम समयमा त्यसलाई रोक्न निर्देशन दिएको खुलासा भएको छ ।

एनबीसी न्युजको रिपोर्टअनुसार आक्रमण सुरु हुन करिब तीन घण्टा मात्र बाँकी रहँदा ट्रम्पले सैन्य कारबाही स्थगित गर्न आदेश दिएका थिए । अमेरिकी सेनाले सम्भावित लक्ष्यहरू पहिचान गरिसकेको थियो भने अमेरिकी नौसेनाले पनि अभियानका लागि आवश्यक तयारी पूरा गरी हतियार तैनाथ गरिसकेको बताइएको छ ।

यसअघि ट्रम्पले अमेरिका छिट्टै इरानको खार्ग टापुमाथि नियन्त्रण स्थापित गर्ने दाबी गरेका थिए । तर उक्त टापु सम्भावित आक्रमण लक्ष्यहरूको सूचीमा नरहेको दाबी गरिएको छ ।

रिपोर्टमा ट्रम्पले अन्तिम समयमा निर्णय परिवर्तन गरी आक्रमण रद्द गरेपछि अमेरिकी सैन्य अधिकारीहरूबीच अन्योलको अवस्था सिर्जना भएको पनि उल्लेख गरिएको छ ।

यसबीच ट्रम्पले अमेरिका र इरानबीच चाँडै शान्ति सम्झौता हुने दाबी पटक–पटक दोहोर्याउँदै आएका छन् । उनी हालसम्म ३९ पटक यस्तो दाबी गरिसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सिएनएनका अनुसार मार्च महिनायता ट्रम्पले सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमसँगको कुराकानीमा कम्तीमा ३८ पटक इरान सम्झौताका लागि तयार रहेको वा सम्झौता नजिक पुगेको बताएका थिए । पछिल्लो अभिव्यक्तिसँगै यस्तो दाबीको संख्या ३९ पुगेको जनाइएको छ ।

यद्यपि इरानले भने अहिलेसम्म कुनै अन्तिम सम्झौता नभएको र महत्वपूर्ण विषयमा निर्णय हुन बाँकी रहेको बताउँदै आएको छ ।

उता, ट्रम्पले इरानमाथिको सम्भावित आक्रमण रोक्ने निर्णयबारे इजरायललाई पूर्वजानकारी नदिएको पनि खुलासा भएको छ । एक्सिओसको रिपोर्टअनुसार ट्रम्पको सार्वजनिक घोषणाअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई कुनै जानकारी दिइएको थिएन र उनी उक्त निर्णयबाट आश्चर्यचकित बनेका थिए ।

रिपोर्टमा इजरायलले लगातार अमेरिकासँग इरानमाथि सैन्य दबाब कायम राख्न आग्रह गर्दै आएको दाबी गरिएको छ । इजरायली अधिकारीहरूको बुझाइमा तेहरानले वार्तालाई समय लम्ब्याउने रणनीतिक माध्यमका रूपमा प्रयोग गरिरहेको छ ।