Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

निर्वाचनको सबै तयारी पुरा, उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने संवैधानिक दायित्वअनुसार आयोग पूर्ण रूपमा क्रियाशील रहेको जानकारी दिएका छन् ।

आयोगका अनुसार यही फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य सामग्री सबै मतदान केन्द्रमा पुर्याइसकिएको छ । मतदान केन्द्र निर्माण, व्यवस्थापन, पहुँचको व्यवस्था, लैंगिक तथा अपाङ्गमैत्री संरचना र कर्मचारी परिचालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । मतदाताले निर्धक्क रूपमा आफूले चाहेको उम्मेदवार र राजनीतिक दललाई मत दिन सक्ने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।

यसैबीच तयारीका क्रममा केही दुखद घटना पनि भएका छन् । रामेछापमा मतदान केन्द्रतर्फ जाँदै गर्दा भएको सवारी दुर्घटनामा सुरक्षाकर्मी र मतदान अधिकृतको निधन भएको छ। त्यसैगरी सर्लाही, मुस्ताङ र कञ्चनपुरमा कार्यक्षेत्रमै खटिएका कर्मचारी तथा सुरक्षाकर्मीको ज्यान गएको आयोगले जनाएको छ । आयोगले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

आयोगले निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास भएको उल्लेख गरेको छ । लोकतन्त्र सुदृढ बनाउन मतदान नागरिकको अधिकार र दायित्व दुवै भएको जनाउँदै आयोगले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अपिल गरेको छ ।