Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नेपाली सेनाले भन्यो- योजना अनुसार नै निर्वाचन सुरक्षा प्रदान गर्छौं

नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्यहरू 'प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन(२०७४' तथा 'प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना(२०८२)'अनुसार सञ्चालन भइरहेको उल्लेख गर्दै विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि निर्वाचनको क्रममा मतदान समापन भए पश्चात् स्थापित प्रोटोकल अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू एवं नेपाली सेना सहितको एकीकृत टोलीले मतगणना स्थलसम्म मतपेटिका ढुवानी गर्ने कार्य गर्ने नेपाली सेनाले जनाएको छ ।

विस २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि सम्पन्न सबै निर्वाचनहरूमा नेपाली सेना परिचालन भई मतपत्र छपाई स्थलको सुरक्षा, काठमाडौँबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन समापन भए पश्चात् संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्‍याउने जिम्मेवारी निर्वाह गर्दै आएको सेनाले स्पष्ट गरेको छ ।

केहि मिडिया र सामाजिक सञ्जालमा निर्वाचनमा सेनाले हस्तक्षेप लगायतका विषय उल्लेख भएपछि नेपाली सेनाले स्पष्ट गरेको बुझिएको छ ।