कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ। सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयले मुद्दा संशोधन तथा फिर्ताका लागि दिएको निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो। अदालतले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले तत्काल मुद्दा फिर्ता गर्न नमिल्ने जनाएको छ।
अदालतले सर्वोच्च अदालतबाट हुने अन्तिम आदेश जिल्ला अदालतमा प्राप्त भएपछि मात्रै थप निर्णय गरिने उल्लेख गरेको छ। यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्धको समान प्रकृतिको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो।
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेसहित प्रतिवादी रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दर्ता गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते उक्त मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। लामिछानेविरुद्ध रूपन्देही, कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन्।