नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चुनावी अभियान रुकुमपूर्वको लावाङबाट औपचारिक रूपमा सुरु गरेका छन्। प्रचण्डले स्थानीय परिकार भुटेको मकै खाएर गाउँका बासिन्दासँग सिधा संवाद गर्दै चुनावी अभियानको शुरुआत गरेका हुन्।
कार्यक्रममा सहभागी स्थानीयले उनलाई स्वागत गर्दै विकास, रोजगारी र पूर्वाधारका विषयमा आफ्ना धारणा राखेका थिए। अभियान सुरु गर्नु अघि प्रचण्ड भूमे गाउँपालिका–७ लावाङ पुगेका थिए। त्यहाँ उनले जनयुद्धका दिनहरू बिताएका पुराना घर र कोठाको अवलोकन गरेका थिए। पुराना सम्झनालाई ताजा गर्दै उनले स्थानीयसँग भावनात्मक संवाद समेत गरेका थिए।

उनको सचिवालयका अनुसार, प्रचण्ड फागुन ६ गतेसम्म रुकुमपूर्वका विभिन्न गाउँहरूमा सक्रिय रहने कार्यक्रम छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रचण्ड रुकुमपूर्वबाट उम्मेदवार बनेका छन्।