जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित ‘Best Innovations Led by Technology and Insurtech – Nepal’ अवार्डबाट सम्मानित भएको छ।
इण्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित छैठौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२५ अन्तर्गत उक्त सम्मान प्रदान गरिएको हो। इण्डियन च्याम्बर अफ कमर्सले ६ फेब्रुअरी २०२६ मा थाइल्याण्डको बैंककमा आयोजना गरेको कार्यक्रममा सूर्यज्योति लाइफले सो विधामा अवार्ड हासिल गर्न सफल भएको हो।
कार्यक्रममा भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्याण्डलगायत विभिन्न देशका बीमा कम्पनीका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। विश्वविख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसी (PwC), इण्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स, अन्तर्राष्ट्रिय बीमा विज्ञहरू तथा अन्य प्रतिष्ठित संस्थाहरूले स्वतन्त्र रूपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचकहरूमा उत्कृष्ट कार्यसम्पादनका आधारमा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
उक्त विधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले ग्रहण गरेका थिए। सो अवसरमा कम्पनीका सञ्चालक चुडामणि देवकोटा, नायब प्रमुख कार्यकारी अधिकृत फर्शुराम मरासिनी तथा चिफ सपोर्ट सर्भिसेज उमेश प्रसाद मैनालीको पनि उपस्थिति रहेको थियो।
कम्पनीले विभिन्न सूचकहरूमा उत्कृष्टता हासिल गर्दै नवप्रवर्तन (Innovation) र डिजिटलीकरण (Digitalisation) मा छुट्टै पहिचान बनाउन सफल भएको अध्यक्ष भट्टराईले बताए। अन्तर्राष्ट्रियस्तरको यो अवार्ड हासिल गर्न कम्पनीका सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले नियमनकारी निकाय बीमा प्राधिकरणको मार्गदर्शन तथा सञ्चालक समितिको निरन्तर हौसला र विश्वासप्रति कृतज्ञता व्यक्त गरे।