होटल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।
अब कम्पनीले बाँकी रहेको ३३ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्रीमा ल्याएको हो। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्काशन छिटोमा माघ २६ गते र सो अवधिभित्र सबै शेयर बिक्री नभएमा ढिलोमा फागुन ८ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।