Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

विश्वकप वार्मअप: नेपालले आज क्यानडाविरुद्ध खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेल खेल्दैछ । नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा यो खेल खेल्दैछ । यो खेल दिउसो सवा १ बजेदेखि शुरु हुने छ ।

नेपालले यसअघि युएईविरुद्धको वार्मअप खेल ७ विकेटले जितेर विश्वकपको राम्रो तयारी गरेको संकेत दिएको छ । त्यस्तै क्यानडा भने इटालीसँगको वार्मअप खेल १० रनले हारेर नेपालसँग खेल्दैछ ।   नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।

आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।