प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङको सुरक्षामा थ्रेट बढेको भन्दै रास्वपाले पीएसओसहितको सुरक्षा व्यवस्था माग गरेको छ।
गुरुङ केही दिनदेखि गोरखाको धार्चे र चुमनुब्री क्षेत्रमा चुनावी प्रचारअन्तर्गत घरदैलो कार्यक्रममा सक्रिय छन्। रास्वपा गोरखाका अनुसार प्राप्त विभिन्न गोप्य सूचनाअनुसार हातहतियार बोक्ने केही व्यक्तिहरूबाट गुरुङलाई सुरक्षा जोखिम बढेको देखिएको छ।
रास्वपा गोरखाका सचिव मिलन रानाले भने, “सुरक्षा थ्रेट भएको बुझेर हामीले सुरक्षाकर्मीको माग गरेका हौं। यसबारे प्रशासनलाई पनि जानकारी गराइसकेका छौँ।”
उक्त विषयमा जानकारी आएपछि सुरक्षा विश्लेषण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरत विकले बताए। “अहिलेसम्म त्यस्तो गम्भीर अवस्था देखिएको छैन, तर सम्भावित गतिविधिबारे निगरानी बढाएका छौँ,” उनले भने।
यसैबीच, घरदैलो अभियानकै क्रममा गुरुङको व्यक्तिगत, सामाजिक तथा राजनीतिक चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलाइएको भन्दै त्यसबारे आवश्यक अनुसन्धान र छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन पनि रास्वपा गोरखाले माग गरेको छ।