आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर महोत्तरी क्षेत्र नम्बर २ मा देशका अन्य क्षेत्रको तुलनामा फरक खालको राजनीतिक चर्चा सुरु भएको छ। देशभर नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चर्कँदै गएको सन्दर्भमा यहाँ हेभिवेट नेता शरदसिंह भण्डारीको उम्मेदवारीले चुनावी माहोल थप तातेको छ। अनुभवी नेतृत्व र नयाँ अनुहारबीचको प्रतिस्पर्धाका रूपमा यो क्षेत्रको चुनावलाई हेरिएको छ।
निर्वाचन आयोगका अनुसार महोत्तरी-२ मा ३७ जनाले मनोनयन दर्ता गराएका छन्। तीमध्ये अधिकांश नयाँ अनुहार भए पनि भण्डारी भने दशकौँदेखि निरन्तर राजनीतिमा सक्रिय पुरानो र प्रभावशाली नाम हुन्। २०३८ सालदेखि निर्वाचनमा सहभागी हुँदै आएका भण्डारीले हालसम्म एकपटक मात्र पराजय भोगेका छन्। लगातार ह्याट्रिक जित हात पार्दै आएका उनी यसपटक पनि उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिएका छन्।
यसपटक जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका भण्डारीसँग प्रतिस्पर्धामा नेकपा एमालेबाट कसिफ नदाफ, नेपाली कांग्रेसबाट किरण यादव, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट लक्ष्मन कुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दीपक कुमार साह, राप्रपाबाट रामलखन साह कानु, जनमत पार्टीबाट जयकुमार पाण्डेयलगायत उम्मेदवार छन्। विशेषगरी रास्वपाको देशव्यापी प्रभावका कारण दीपक कुमार साहलाई बलियो चुनौतीकर्ताका रूपमा हेरिएको छ।
भण्डारीलाई विपक्षी उम्मेदवारहरूले ‘लामो समय सत्ता भोगेको’ विषयलाई मुख्य चुनावी हतियार बनाइरहेका छन्। २० पटक मन्त्री भइसकेको उनको राजनीतिक यात्राले अनुभव देखाए पनि यही कारण पुस्तान्तरण चाहने मतदाताबीच आलोचना पनि बढ्दै गएको छ। ७१ वर्ष पुगेका भण्डारीले भने यो आफ्नो अन्तिम उम्मेदवारी भएको भन्दै मतदातासँग भावनात्मक अपिल गरिरहेका छन्।
अघिल्लो निर्वाचनमा लोसपाबाट उम्मेदवार बनेका भण्डारीले १४ हजार ७० मतको फराकिलो अन्तरले निकटतम प्रतिस्पर्धीलाई पराजित गरेका थिए। संगठनात्मक रूपमा एक्लै चुनाव लड्दा पनि उल्लेख्य मत पाएको र यसपटक जसपा एकीकृत भइसकेकाले आफूलाई बलियो प्रतिस्पर्धी नरहेको उनको दाबी छ। तर स्थानीय तहमा भने पुस्तान्तरणको बहस तीव्र बन्दै गएको र नयाँ अनुहारप्रति मतदाताको अपेक्षा बढेको देखिन्छ।
२०७४ सालको निर्वाचनमा यही क्षेत्रमा भण्डारी र किरण यादवबीच कडा प्रतिस्पर्धा भएको थियो। उक्त निर्वाचनमा यादवले १३ हजार ९७४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार ७२२ मत ल्याउँदै फराकिलो जित निकालेका थिए। यसपटक पनि ‘अनुभवी नेतालाई जिताए मन्त्री बन्ने सम्भावना बढी र त्यसबाट क्षेत्रले प्रत्यक्ष लाभ पाउने’ बुझाइ केही मतदातामा बलियो देखिन्छ।स्थानीयहरूको भनाइमा नयाँ भनिएका धेरै उम्मेदवारले नाराबाहेक ठोस विकास एजेन्डा प्रस्तुत गर्न नसकेको गुनासो छ। ‘बालेनलाई प्रधानमन्त्री बनाउँदा मधेशको छोरा प्रधानमन्त्री बन्ने’ जस्ता नाराले मात्र स्थानीय समस्या समाधान नहुने उनीहरूको धारणा छ। बरु १०औँ पटक उम्मेदवार बनेका भण्डारीका विकास प्रतिबद्धता र अनुभवले केही उत्साह सिर्जना गरेको उनीहरू बताउँछन्।
२० पटक मन्त्री तीन व्यवस्थामा सत्ता अनुभव
शरदसिंह भण्डारी नेपाली राजनीतिका ती विरलै नेतामध्ये पर्छन्, जसले पञ्चायत, प्रजातन्त्र र गणतन्त्र तीनै व्यवस्थामा मन्त्री बन्ने अवसर पाएका छन्। वि.सं. २०२८ सालदेखि सक्रिय राजनीतिमा रहेका भण्डारी हाल सम्म २० पटक मन्त्री बनेका छन्। यो भन्दा अगाडी एमाले–कांग्रेस गठबन्धन सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को तर्फबाट उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका थिए।
वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलको पुस्तक ‘नेपालका मन्त्री र सांसदहरू’ अनुसार भण्डारी २०७५ सालसम्म १७ पटक मन्त्री भइसकेका थिए। त्यसयता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फेरि ओली नेतृत्वको सरकारमा गरी उनी २० पटक मन्त्री बनेका हुन्। उनले श्रम मन्त्रालयसहित ऊर्जा, रक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, वाणिज्य, युवा तथा संस्कृतिजस्ता ११ वटा मन्त्रालयको नेतृत्व गरिसकेका छन्।
भण्डारीको पहिलो मन्त्री पद २०४३ असार २ मा पञ्चायत तथा स्थानीय विकास सहायक राज्यमन्त्रीका रूपमा सुरु भएको थियो। त्यसपछि वाणिज्य राज्यमन्त्री, बिनाविभागीय मन्त्री हुँदै उनले विभिन्न सरकारमा निरन्तर मन्त्रीको जिम्मेवारी पाए। मरिचमानसिंह श्रेष्ठदेखि शेरबहादुर देउवा, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, केपी शर्मा ओली र पुष्पकमल दाहालसम्म आठ प्रधानमन्त्रीसँग उनले काम गरिसकेका छन्।
राजनीतिक यात्रामा उनले राप्रपा, कांग्रेस, स्वतन्त्र हुँदै मधेशवादी दलसम्मको यात्रा तय गरेका छन्। २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य बनेका भण्डारी २०५१ मा स्वतन्त्र उम्मेदवारका रूपमा संसद प्रवेश गरेका थिए। २०५६ मा कांग्रेसबाट निर्वाचित उनी पछि मधेशी जनअधिकार फोरम हुँदै विभिन्न मधेशवादी दलबाट निर्वाचित हुँदै आएका छन्। २०७० बाहेक उनी प्रायः सबै
निर्वाचनमा विजयी भएका छन्।
महोत्तरी–२ मा यसपटकको चुनाव अनुभव र पुस्तान्तरणबीचको निर्णायक भिडन्तका रूपमा हेरिएको छ। एकातिर दशकौँको अनुभव, राजनीतिक पहुँच र मन्त्री बन्ने सम्भावनासहित शरदसिंह भण्डारी छन् भने अर्कोतिर परिवर्तन र नयाँ प्रयोगको चाहना बोकेका नयाँ उम्मेदवारहरू मैदानमा छन्।
अन्ततः मतदाताले नयाँ रोज्ने कि अनुभवी नेतृत्वमै भरोसा गर्ने भन्ने निर्णयले महोत्तरी–२ को मात्र होइन, मधेशको राजनीतिमा समेत आगामी दिशाको संकेत गर्नेछ।