रास्वपाका बरिष्ट नेता बालेन शाह पछिल्लो समय केवल स्थानीय तहको नेतृत्वमा सीमित छैनन्, उनी राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने प्रयासमा देखिएका छन्। यही सन्दर्भमा पूर्वको केपीलाई हराएर पश्चिमको केपी भित्र्याउने तयारीमा छन बालेन। एकातिर झापा - ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिने तयारी, अर्कोतिर कैलाली - २ बाट देशकै कान्छा उम्मेद्वार केपी खनाललाई संसद् पुर्याउने रणनीति यी दुई घटनाले बालेनको राजनीतिक दृष्टिकोण र साहसिक कदमलाई स्पष्ट देखाउँछन्।
कैलाली–२ मा बालेनका विश्वासपात्र सामाजिक अभियन्ता केपी खनाल चुनावी मैदानमा उत्रिएका छन्। “म बदलिन्छु, अनि मेरो देश बदलिन्छ” भन्ने सन्देश बोकेका खनाललाई धेरैले सामाजिक अभियन्ताका रूपमा पहिल्यै चिनेका छन्। “सके सफा गरौँ, नसके फोहोर नगरौँ” भन्ने अभियानमार्फत उनले सानो उमेरमै देशका विभिन्न जिल्ला–जिल्ला पुगेर फोहोर उठाउने, सचेतना फैलाउने काम गरेका थिए। आजभन्दा १२,१३ वर्षअघि सुरु गरेको यही यात्राले उनलाई आज राष्ट्रिय राजनीतिमा पुर्याएको छ।
अधिकांश नेताहरू भाषणमै सीमित हुने आरोप लागिरहँदा केपी खनाल भने “पहिला आफू बदलिन्छु, अनि मात्र अरूलाई बदल्न खोज्छु” भन्ने व्यवहारिक सोचका प्रतीकका रूपमा प्रस्तुत भइरहेका छन्। यही कारणले रास्वपाले उनलाई कैलाली - २ बाट उम्मेद्वार बनाएको बताइन्छ। बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सहकार्यको क्रममा खनाल पनि साक्षी रहेका थिए। जसले उनलाई पार्टीभित्र थप विश्वासिलो बनाएको छ।
हिजो मात्रै कैलाली पुगेका बालेन शाहले खनाललाई जिताएर संसद् भवन पठाउन मतदातासँग आग्रह गरेका छन्। उमेरले सानो भए पनि जिम्मेवारी निभाउन सक्ने क्षमता खनालमा रहेको बालेनको भनाइ छ। देशभरका ३ हजार ४८४ उम्मेद्वारमध्ये खनाल सबैभन्दा कान्छा उम्मेद्वार हुनु यो आफैंमा ऐतिहासिक तथ्य हो।
कैलाली–२ को चुनावी माहोल यसपटक निकै तातेको छ। २०७९ को निर्वाचनमा यही क्षेत्रबाट एमालेका जपटबहादुर रावललाई हराउँदै नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी विजयी भएका थिए। तर यसपटक परम्परागत कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वारहरूसँगै बालेनका विश्वासपात्र, नयाँ पुस्ताका प्रतिनिधि केपी खनाल मैदानमा छन्। यसले मतदातालाई कर्म गर्ने नेता र भाषण मात्रै गर्ने पुराना नेता बीच छनोट गर्न बाध्य बनाएको छ।
उता, बालेन शाह स्वयं पनि झापा - ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्ने दाबीका साथ अघि बढिरहेका छन्। ओलीले २०४८ साल यता झापा - ५ बाट ६ पटक चुनाव जितिसकेका छन्। यही किल्ला भत्काउँदै बालेन राष्ट्रिय राजनीतिमा अझ सानमा साथ प्रवेश गर्ने तयारीमा छन्।
अब प्रश्न उठेको छ - के पश्चिमका सानो केपी ले चुनाव जितेर संसद् पुग्लान् र के पुर्वका ठूलो केपीलाई बालेनले हराउन सक्लान् यसको उत्तर फागुन २१ गते जनताले मतदान मार्फत दिनेछन् ?