Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

पति ऋषि धमलाको प्रचार गर्दै एलिजा भन्छिन्– ‘अबकी बार, धमला सरकार’

पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका ऋषि धमला यतिबेला चुनावी प्रचारमा सक्रिय देखिएका छन्। उनी आम जनता पार्टी (आजपा)बाट रौतहट क्षेत्र नम्बर-४ मा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरिरहेका छन्।

धमलाले माघ ६ गते रौतहट पुगेर उम्मेदवारी दर्ता गराएका थिए। त्यसयता केही दिन चुनावी प्रचारमा व्यस्त रहेका उनी बीचमा काठमाडौं फर्किए पनि मंगलबार पुनः रौतहट फर्किएर प्रचार अभियानलाई तीव्र बनाएका छन्।

हाउभाउसहितको बोल्ने शैलीका कारण चर्चित धमला चुनावी प्रचारशैलीका कारण पनि थप चर्चामा छन्। आलोचनाप्रति बेवास्ता गर्दै उनी कहिले उखु बोकेर, कहिले जेरी पकाउँदै, कहिले ट्याक्टर चलाउँदै त कहिले काठ चिर्दै मतदातासँग घुलमिल भइरहेका देखिन्छन्। यी गतिविधिका कारण सामाजिक सञ्जालमा ट्रोल बन्ने क्रम जारी रहे पनि धमला त्यसप्रति कुनै प्रतिक्रिया नदिई निरन्तर प्रचारमा जुटिरहेका छन्।

धमलाकी पत्नी एजिला गौतम सोही पार्टीबाट समानुपातिकतर्फ पहिलो नम्बरमा रहेकी छन्। श्रीमान–श्रीमती दुवै एकैपटक संसद प्रवेश गर्ने लक्ष्यका साथ राजनीतिक अभियानमा अघि बढेका छन् र एकअर्काको प्रचारमा समेत सक्रिय देखिन्छन्।

गौतमले सामाजिक सञ्जालमार्फत धमला अब सांसद मात्र नभई सरकार सञ्चालन गर्ने भूमिकामा पुग्ने दाबी गर्दै ‘अबकी बार, धमला सरकार’ भन्ने नारासहित प्रचार गरिरहेकी छन्।

उनले लेखेकी छन्, ‘रौतहट–४ को निकास र विकासबारे साक्षात्कार: ऋषि धमला। अबकी बार, धमला सरकार। मोबाइलमा मतदान। आम जनता पार्टी जिन्दाबाद।’