Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

उम्मेदवार हर्क साम्पाङविरुद्ध उजुरी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोप लागेको छ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले आइतबार उजुरी दर्ता गराएको हो ।

नगर बाल सञ्जालले निर्वाचन अधिकृतको कार्यालय र धरान प्रहरीमा उजुरी दिँदै साम्पाङमाथि कारबाहीको माग गरेको छ । सञ्जालका अनुसार आउँदो फागुन २१ गते हुने निर्वाचन लक्षित प्रचारका क्रममा प्रत्यक्ष रूपमा बालबालिकाको प्रयोग गरिएको छ ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था उल्लेख गरिएको छ। कानुन विपरीत बालबालिकालाई चुनावी गतिविधिमा संलग्न गराई बाल अधिकारको गम्भीर उल्लङ्घन भएको दाबी गरिएको छ।

नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई आवश्यक छलफल र छानबिन गर्दै आचारसंहिता तथा कानुनअनुसार कारबाही गर्न माग गरेको छ ।

उजुरी बुझ्दै प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन् । उनका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा गठित समितिले उजुरी अध्ययन गर्नेछ र सम्बन्धित निकायमा पत्राचार गरिनेछ।